उम्मेदवार छनोटमा नेकपाको कडा नीति: जेनजी अनिवार्य,यौन उत्पीडनमा संलग्न अयोग्य

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्न नयाँ मापदण्ड लागू गरेको छ।

आगामी माघ ११ मा हुने राष्ट्रिय सभा र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपाले आन्तरिक परिपत्र जारी गर्दै उम्मेदवारहरूले कानूनी,आर्थिक,सामाजिक र वैचारिक रूपमा पूर्ण स्वच्छ हुनुपर्ने भनेको हो।

परिपत्रअनुसार प्रतिनिधि सभाका उम्मेदवारले २५ वर्ष र राष्ट्रिय सभाका उम्मेदवारले ३५ वर्ष उमेर पूरा गरेको नेपाली नागरिक हुनुपर्नेछ।

त्यस्तै मतदाता नामावलीमा नाम दर्ता भएको र संविधान–कानूनले अयोग्य ठहर्याएको हुन नहुने प्रावधान छ। बहालवाला राष्ट्रिय सभा, प्रदेश सभा वा स्थानीय तहका पदाधिकारीलाई उम्मेदवारीबाटै वञ्चित गरिएको छ।

आर्थिक पारदर्शितालाई पार्टीले विशेष जोड दिएको छ। भ्रष्टाचार मुद्दामा अदालतबाट दोषी ठहरिएका व्यक्ति उम्मेदवार बन्न अयोग्य हुनेछन्।

कर–राजश्वमा पूर्ण अद्यावधिक, कालो सूचीमा नाम नभएको र सम्पती तथा आयस्रोतको स्पष्ट घोषणा गर्न तयार हुनुपर्ने अनिवार्य शर्त राखिएको छ। परिपत्र अनुसार पार्टीको आर्थिक अनुशासन उल्लंघन गर्नेहरू पनि उम्मेदवारीबाट बाहिरिनेछन्।

नेकपाले सामाजिक आचरणमा पनि कुनै सम्झौता नगर्ने नीति अवलम्वन गरेको छ। जातीय–लैंगिक भेदभाव, घरेलु हिंसा, यौन उत्पीडन, मानव बेचबिखनजस्ता मुद्दामा दोषी ठहरिएका व्यक्ति पार्टीबाट उम्मेदवार बन्न पाउने छैनन्।

राजनीतिक रूपमा पार्टीको नीति–कार्यक्रमप्रति पूर्ण प्रतिवद्धता, आन्दोलनमा निरन्तर योगदान, सामाजिक प्रतिष्ठा र जनतामा लोकप्रियता उम्मेदवारका लागि अनिवार्य मापदण्ड तोकिएका छन्।

उम्मेदवार सिफारिस गर्दा विषयगत विज्ञता, नीति निर्माण क्षमता र सार्वजनिक संवाद कौशललाई पनि आधार बनाइनेछ । प्रत्यक्षतर्फ प्रत्येक क्षेत्रबाट कम्तीमा एक युवा र एक महिलासहित बढीमा पाँच जना सिफारिस गर्नुपर्ने व्यवस्था छ भने जित्ने सम्भावना भएका लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिन निर्देशन दिइएको छ।