जेनजीको नाममा कसैले ‘स्टन्ट’ नगरे हुन्छ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति (पेवा) नभएको स्पष्ट पारेका छन् । काठमाडौंको भृकुटीमण्डपमा शनिवार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले जेनजीको नाममा स्टन्ट नगर्न चेतावनी दिएका हुन् ।

‘जेन–जी कसैको पेवा होइन । हामी जेनजीका प्रतिनिधि हौँ भन्दै कसैले स्टन्ट नगरे हुन्छ,उनले भने, जेनजीको सच्चा प्रतिनिधि नेपाली कम्युनिस्ट पार्टी नै हो। उनले गलत वा सही छुट्याउने आधार विचार र एजेन्डा हुने बताए।

जेनजीलाई उमेरको आधारमा अलमलमा नपार्न आग्रह गर्दै प्रचण्डले भने, ‘को गलत र को सही भन्ने कुरा एजेन्डा तथा विचारमा निर्भर हुन्छ, उमेरमा होइन।समाजमा सबै उमेर समूहका व्यक्तिको आवश्यकता हुने उनको भनाइ थियो। ‘कम्युनिस्टहरूले भन्ने गर्छन्– थ्री इन वान स् युवा, प्रौढ र वृद्ध। सबै मिलेर मात्र समाज बन्छ,उनले भने।

जेनजीको नाममा निर्वाचन मिति नसार्न पनि उनले अपील गरे। अन्तरिम सरकार गठनमा सहजीकरण गरेको स्मरण गर्दै प्रचण्डले भने, ‘सरकारले निर्वाचन मिति सार्‍यो भने हामी चुप लागेर बस्ने छैनौँ।