हुम्लाको सर्केगाडमा आगलागी, दुईजना घाइते

सांकेतिक तस्वीर

काठमाडौँ। हुम्लाको सर्केगाड गाउँपालिकामा आगलागी हुँदा दुई जना घाइते भएका छन् । तीन घर जलेर पूर्णरूपमा नष्ट भएका छन् । सर्केगाड गाउँपालिका-२ रिपमा गएराति १ बजे आगलागी भएको हो ।

आगलागीमा परी स्थानीय लैबा फडेरा र श्रीमती बम्बु घाइते भएका छन्। उनीहरूको उपचार सिमकोट अस्पतालमा भइरहेको र चिकित्सकहरुले अवस्था नाजुक रहेको बताएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक विष्णु श्रेष्ठले जानकारी दिए।

रातको समय भएकाले आगो नियन्त्रणमा लिन केही समय लागेको थियो। अहिले भने पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ। आगलागीबाट रिप गाउँका स्थानीय लैबा फडेरा, जयराम फडेरा र छिरिङ फडेराको घर पूर्णरूपमा जलेका छन्।

रमेश महताराको घरको सामान जलेर नष्ट भएको छ । आगलागीको कारण र क्षतिको यकिन विवरण खुल्न बाँकी छ ।