वैदेशिक रोजगारीमा हुने ठगी रोक्न ‘हेल्प अस टु हेल्प यु’ सञ्चालनमा
काठमाडौं। सरकारले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न ‘हेल्प अस टु हेल्प यु’ कार्यक्रम सञ्चालनमा ल्याएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आफूमातहतका विभाग, देशभरका ७५३ पालिकामा रहेका रोजगार केन्द्रमार्फत ‘हेल्प अस टु हेल्प यु’ कार्यक्रम सञ्चालनमा ल्याएको हो।
‘हेल्प अस टु हेल्प यु’ ‘१० प्रश्न’ मार्फत वैदेशिक रोजगारमा जाने श्रमिकले खोजेका प्रमुख प्रश्नको उत्तर प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ। यो कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले यसअघि आफूमातहतका वैदेशिक रोजगार विभाग, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, यी विभाग अन्तर्गतका ११ वटा श्रम तथा रोजगार कार्यालय र देशभर ७५३ पालिकामा रहेका रोजगार केन्द्रमा पत्रचार गरिसकेको जनाएको छ।
श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले वैदेशिक रोजगारमा जाने श्रमिकलाई ठगी जोगाउन ‘हेल्प अस टु हेल्प यु’ कार्यक्रम सञ्चालन ल्याइएको जानकारी दिए। उनका अनुसार देशभरका ७५३ स्थानीय तहमा रहेका रोजगार सूचना केन्द्र, सातै प्रदेशका श्रम कार्यालय, वैदेशिक रोजगार विभाग र समाधान कल सेन्टरलाई १० प्रश्नसँग जोडिने छ। यी सबै स्थानबाट कार्यलय समयमा सेवा लिन सकिने छ।
