विशेष महाधिवेशनबारे गगन-विश्वले गरे कानुनविद्सँग परामर्श
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका विषयमा कानुनविद्हरूसँग परामर्श गरेका छन्। केन्द्रीय कार्यसम्पादन समितिले बहुमतका आधारमा १५औँ महाधिवेशनको कार्यतालिका पछाडि सारेको एक दिनपछि महामन्त्रीद्वयले कानुनविद्हरूसँग परामर्श गरेका हुन्।
कांग्रेसको १४औँ महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिहरूले गत २९ असोजमा विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएका थिए। पार्टी विधानको धारा १७ (२) अनुसार यस्तो माग आएको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ । २८ पुसमा यो अवधि पूरा हुँदै छ।
तर, पार्टीको वर्तमान नेतृत्व विधानबमोजिम विशेष महाधिवेशन बोलाउन इच्छुक देखिएको छैन। यसअघि नै महामन्त्रीद्वयले केन्द्रीय कार्यसमिति वा कार्यसम्पादन समितिले विशेष महाधिवेशन नबोलाएमा पार्टी केन्द्रका तर्फबाट आफैँले यसलाई आह्वान गर्ने स्पष्ट उद्घोष गरिसकेका छन् ।
यसबीचमा नियमित १५औँ महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका (पुस २६–२८) कार्यान्वयन हुन नसकेपछि महामन्त्रीद्वयले संयुक्त विज्ञप्तिमार्फत सो कार्यतालिका स्थगित भएको घोषणा गरेका थिए । उनीहरूले विशेष महाधिवेशनलाई अबको एकमात्र विकल्पका रूपमा अघि सारेका छन् ।
