विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
सिन्धुपाल्चोक। विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकमा एक शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका-१२ साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयका शिक्षक जितराज गिरी रहेका छन्।
उनलाई नियन्त्रणमा लिएर म्याद थपको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी काजिकुमार आचार्यले जानकारी दिए।
प्रहरीका अनुसार विद्यालय नजिकै गिरीको आफ्नै स्टेशनरी पसल छ। सोही पसलमा गएकी १२ वर्षीया छात्रामाथि गिरीले यौन दुर्व्यवहार गरेको आरोप लागेको हो। पीडित बालिका कक्षा ७ मा अध्ययनरत छिन्।
बालिकाले आफूलाई भएको दुर्व्यवहारबारे आफन्तलाई जानकारी दिएपछि घटनाबारे प्रहरीमा जाहेरी दर्ता गरिएको थियो। जाहेरीपछि आरोपित शिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
यता, आरोपित गिरीले भने आरोप अस्वीकार गर्दै ‘माया गरेर गाला मात्रै छोएको’ दाबी गरेका छन्। उनले आरोप अस्वीकार गरेपछि बालिकाका आफन्तले बुधबार विरोध र दबाब सिर्जना गरेका थिए।
घटनाबारे जानकारी पाएपछि अभिभावकहरू विद्यालय पुगेर छलफलमा जुटेका थिए। तर आरोपितले दोष स्वीकार नगरेपछि विद्यालय परिसरमा अवस्था तनावग्रस्त बनेको थियो । सोही कारण प्रहरी टोलीले शिक्षक गिरीलाई नियन्त्रणमा लिएको जनाएको छ।
