प्रधानमन्त्रीका उम्मेदवार गगन थापा नयाँ युगको प्रतिनिधि: विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युग र नयाँ सन्दर्भको प्रतिनिधि भएको बताएका छन्।
काठमाडौँमा बिहीबार आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उनले अहिले प्रधानमन्त्रीका उम्मेदवारहरू फरक(फरक समय र सन्दर्भका रहेको उल्लेख गर्दै कांग्रेसको उम्मेदवार भने नयाँ सोचको प्रतिनिधि भएको जिकिर गरे।
‘कसैले भदौ २३ को कुरा गर्छन्, कसैले भदौ २४ को मात्रै कुरा गर्दछन्। प्रधानमन्त्रीका उम्मेदवारहरू थुप्रै हुनुहुन्छ,शर्माले भने, कोही भदौ २३, कोही भदौ २४ वाला हुनुहुन्छ । नेपाली कांग्रेस पार्टीको प्रधानमन्त्रीको उम्मेदवार माघ १ वाला हो।
उनले सबै विषयमा आत्मालोचना गर्दै कांग्रेस अघि बढेको बताए। आफूलाई परिवर्तन गरेर पार्टी परिवर्तनको दिशामा अघि बढेको उनको भनाइ छ। शर्माले सद्भाव, सुशासन र समुन्नति अहिलेको मुख्य मुद्दा भएको बताए।
‘सारा विषयलाई डकुमेन्टमा लिएर रियलाइज गरेर क्षमा मागेर, आफूलाई बदलेर पार्टीलाई जबरजस्त ढङ्गले एउटा नयाँ युगमा लिएर गएर फेरि पार्टीभित्रका सबैलाई गाँसेर मैदानमा लिएर जाँदै गरेको कांग्रेस र कांग्रेसको अबको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि हो,’ शर्माले भने।
उनका अनुसार अहिले नेपाली समाजलाई सबैभन्दा बढी सद्भावको आवश्यकता छ । निर्वाचनमा हार र जित सामान्य प्रक्रिया भएको उनले बताए।
