भण्डारीसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङका तत्कालीन उपकुलपति प्रा.डा.संगिता सिंह भण्डारीसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
प्रतिष्ठानमा सिटी स्क्यान मेसिन खरिदका क्रममा गुणस्तरहीन मेसिन आपूर्ति गरी आर्थिक अनियमितता गरेको आरोपमा आयोगले बिहीबार मुद्दा दायर गरेको हो।
आयोगका अनुसार उपकुलपति भण्डारीसँगै तत्कालीन रजिष्ट्रार कैलाशप्रसाद देव, निर्देशक डा.सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख, बायोमेडिकल इन्जिनियरहरू, खरिद शाखाका कर्मचारीहरू तथा मेसिन आपूर्तिकर्ता कम्पनी ‘हिमालयन मेडिटेक प्रा।लि। का सञ्चालकसमेतलाई प्रतिवादी बनाइएको छ ।
आयोगको अनुसन्धानबाट प्रतिष्ठानले १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद गर्दा सार्वजनिक खरिद ऐन र नियमावलीको प्रतिकूल हुने गरी बदनियत राखिएको,आपसमा मिलेमतो गरी निश्चित कम्पनीलाई ठेक्का दिन अनुकूल ‘स्पेसिफिकेसन’ तयार पारिएको तथा तोकिएको मापदण्ड पूरा नगरेको मेसिन स्वीकार गरी भुक्तानी दिइएको पाइएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यी कार्यबाट गम्भीर अनियमितता भएको पुष्टि भएको छ।
आयोगले यस प्रकरणबाट नेपाल सरकार र प्रतिष्ठानलाई ७ करोड ३१ लाख ८२ हजार ९ सय ८५ रुपैयाँ हानी-नोक्सानी पुगेको निष्कर्ष निकालेको छ। सोही रकम बराबरको बिगो कायम गर्दै प्रतिवादीहरूबाट बिगो असुल उपर गरी कैद तथा जरिवानाको सजाय मागदाबी गरिएको छ।
