सामाजिक सुरक्षा कार्यक्रम खर्च मापदण्ड खारेज
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सेवाप्रदायक स्वास्थ्य संस्थाका लागि तय गरिएको खर्च मापदण्ड खारेज गरेको छ।
बोर्ड गठनअघि सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले १० साउन २०७३ मा औषधि, उपकरण, जनशक्ति, प्रोत्साहन तथा प्रशासनिक शीर्षकमा निश्चित प्रतिशत तोक्दै खर्च मापदण्ड बनाएको थियो। तर पछिल्लो समय औषधि र उपचारभन्दा अन्य शीर्षकमा बढी खर्च भएको गुनासो बढेपछि बोर्डले उक्त व्यवस्था हटाउने निर्णय गरेको हो।
बोर्डले २४ पुसमै निर्णय गरे पनि १३ माघमा मात्र सेवाप्रदायक संस्थालाई परिपत्र गरेको थियो। अबदेखि स्वास्थ्य बीमाबाट प्राप्त भुक्तानी रकम प्रचलित ऐन, नियम र कानुनअनुसार औषधि, उपचार, उपकरण र जनशक्तिमा केन्द्रित भएर खर्च गर्नुपर्नेछ।
बोर्डका अनुसार प्रतिशत तोक्ने प्रणाली हटाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले यो निर्णय गरिएको हो।
