राजनीतिक स्थिरता र सुशासनका लागि परिपक्व नेतृत्व आवश्यक: उपसभापति शर्मा
सुनसरी। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको राजनीतिक अस्थिरता, नयाँ पुस्तामा बढ्दो असन्तुष्टि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्न परिपक्व नेतृत्व आवश्यक रहेको बताएका छन्।
आज धरानमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ का उम्मेदवार सुजेन्द्र तामाङको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा उनले वर्तमान परिस्थितिमा जिम्मेवार र अनुभवी राजनीतिक दलले देशको नेतृत्व गर्नुपर्ने धारणा राखे।
उपसभापति शर्माले ‘जेनजी’ आन्दोलनलाई नयाँ पुस्ताको चेतना, अपेक्षा र असन्तुष्टिको संकेतका रूपमा उल्लेख गर्दै त्यसको सूक्ष्म अध्ययन आवश्यक रहेको बताए।
समस्याको मूल कारण पहिचान गरी समयमै समाधान गर्न नसके भविष्यमा अझ अर्को विद्रोह हुन सक्ने उनको भनाइ थियो।
उनले भने,यस्तो बेला अनुभवहीनको हातमा नेतृत्व सुम्पिनु भन्दा परिपक्व राजनीतिक शक्तिले जिम्मेवारी लिनु जरुरी छ।
