सिरहा ३ का जसपा उम्मेदवार अशेश्वर यादव पक्राउ
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं.३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन्।
नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको स्कारपियो गाडीलाई शिवचोकमा चेकजाँच गर्नेक्रममा ४ लाख ८७ हजार नगद फेला परेपछि उम्मेदवार यादवलाई पक्राउ गरिएको हो।
उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको मधेस प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता कमल थापाले जानकारी दिए। उनका अनुसार प्रहरीले गाडीबाट मतपत्रसमेत फेला पारेको छ।
नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको बताइएको छ। यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा–२ का उम्मेदवार मनोज चौधरी पनि पक्राउ परेका छन्।
