पैसा बाँड्दै गरेका स्वतन्त्र उम्मेदवार समातिए
जनकपुरधाम। धनुषा क्षेत्र नम्बर ४ अन्तर्गत क्षिरेश्वरनाथ नगरपालिका–४, चन्द्रपुर टोलबाट पैसा बाँड्दै गरेको आरोपमा स्वतन्त्र उम्मेदवार पक्राउ परेका छन् भने तीन जना फरार भएका छन्।
पक्राउ पर्नेमा सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका राजकिशोर महरा छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेशबहादुर बमका अनुसार महरालाई ४५ हजार रुपैयाँ भन्दाबढी नगदसहित नियन्त्रणमा लिइएको हो। प्रहरी टोली पुगेपछि उनीसँगै रहेका अन्य तीन जना भने फरार छन्।
प्रहरीका अनुसार घटनास्थलबाट ४८ हजार ५ सय रुपैयाँ नगद तथा आर्थिक कारोबारसम्बन्धी विवरण उल्लेख गरिएको डायरीसमेत बरामद गरिएको छ।
पक्राउ परेका उम्मेदवार महरा तथा प्रयोग गरिएको गाडीलाई आवश्यक कारबाहीका लागि निर्वाचन आयोगको कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
