१६ वर्षीया किशोरीको बलात्कारपछि हत्या,चार जना पक्राउ

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरकै चार जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका नाबालक हुन्।

पूर्व सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिसाको फागुन २३ गते मृत्यु भएको थियो ।

इनिसा २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन्। लगतै उनलाई प्रदेश अस्पताल कालागाउँमा पुर्‍याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए।

उनी कक्षा ११ मा अध्ययनरत थिइन्। उनको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले २४ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।

डिएसपी बुढथापाका अनुसार सुर्खेत प्रहरीले २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो। थप अनुसन्धानका लागि फागुन २४ गते अरु तीन जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

हरेक दिन झैँ इनिसा,फागुन २३ गते बिहान ६ बजे ‘ट्युसन पढ्न जान्छु’ भन्दै घरबाट निस्किएकी थिइन्। उनी वीरेन्द्रनगर–६ मा रहेको उषा बालबाटिका स्कुलमा कक्षा ११ मा पढ्थिन्। अघिल्लो दिनसम्म बिहान ८ बजेभित्र घर फर्किने छोरी ९ बजेसम्म नआएपछि आमाले फोन गरिन्। तर फोन स्वीच अफ थियो।

केही समय पछि तपाईँकी छोरी शहीद पार्कको जङ्गलमा बेहोस अवस्थामा छिन्। छिटो आइहाल्नुपर्‍यो भनेर एउटा नम्बरबाट फोन आयो, इनिसाकी आमा भन्छिन्।

जनजागरण सामुदायिक वनसँग जोडिएको शहीद पार्कमा उनी पुग्दा इनिसा बेहोस अवस्थामा थिइन्। शरीर रक्ताम्मे थियो। छोरीको अवस्था देखेर आमा त्यहीँ बेहोस भइन्।

घटनास्थलमा पुगेका अन्य व्यक्तिहरूले इनिसालाई प्रदेश अस्पताल कालागउँ पुर्‍याए। तर,अस्पताल पुर्‍याउँदा चिकित्सकले इनिसालाई मृत घोषणा गरे।

मृतकका परिवारले सामूहिक बलात्कारपछि मृत्यु भएको भन्दै कर्तव्य ज्यान तथा जबरजस्ती करणीको जाहेरी दिएको छ। घटनास्थलको अवस्था हेर्दा सामूहिक बलात्कार पछि हत्या नै गरेको परिवारको दाबी छ।

छोरीको शरीरभरि निलडामा थिए कपाल लुछेको छ।चुरा फुटेका छन्। दुई तीन मिटर माथिबाट तल घिसारेको छ’ मृतकी आमा भन्छिन्,तड्पाई तड्पाई मारेका छन्। दोषीमाथि कडा कारबाही होस्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी बुढथापाले घटनाको गम्भिरताका साथ अनुसन्धान अगाडि बढाएको जानकारी दिए। पोस्टमार्टम रिपोर्ट आएपछि एउटा निष्कर्षमा पुग्ने प्रहरीले बताएको छ।