डोटीमा जिप दुर्घटना हुँदा ४ जना घाइते

डोटी। डोटीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार, बोगटान फुड्सिल गाउँपालिका–३, इनडाबाट कैलालीतर्फ जाँदै गरेको से.१ च १५१७ नं.को बोलेरो जीप दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर कैलालीको घोडाघोडी नगरपालिका–२ का ४५ वर्षीय योगेस बिनाडी र डोटीको बोगटान फुड्सिल गाउँपालिका–३ कानाचौरका १७ वर्षीय नरेश साउद गम्भीर घाइते भएका हुन्। दुवैको टाउको र ढाडमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, दुर्घटनामा परि कैलालीको गौरीगंगा नगरपालिका–९ बस्ने चालक २८ वर्षीय सन्तोष सापकोटा र अछामकप ढकारी गाउँपालिका–३ का १५ वर्षीय जनक बुढा घाइते भएका छन् ।

दुवैको अवस्था मध्यम रहेको छ । उकालोमा रहेको जिप ब्याक हुन गई सडकबाट करिब ३ सय मिटर खसेको छ ।