सल्यान प्रहरीले ग-याे एक महिनामा १६ फरार प्रतिवादी पक्राउ
सल्यान। जिल्ला प्रहरी कार्यालय सल्यानले एक महिनाको अवधिमा विभिन्न मुद्दाका फरार १६ प्रतिवादी पक्राउ गरेको छ । फागुन महिनामा फैसला कार्यान्वयनका लागि उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीले यस अवधिमा जिल्लाका विभिन्न स्थानबाट बेवारिसे अवस्थाका १६ नाल भरुवा बन्दुकसमेत बरामद गरिएको जानकारी दिए।
उनका अनुसार अपराध अनुसन्धानतर्फ फागुन महिनामा १५ वटा नयाँ मुद्दा दर्ता भएका छन् भने पुराना र नयाँ गरी २२ वटा मुद्दा फर्छ्यौट गरिएको छ।
सवारी दुर्घटना न्यूनीकरणका लागि गरिएको सक्रियताका क्रममा फागुन महिनामा २४१ वटा सवारीसाधनलाई कारबाही गरिएको छ । उक्त कारबाहीबाट २ लाख १२ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ।
साथै, प्राकृतिक स्रोतको अवैध दोहन रोक्ने क्रममा बालुवा लोड गरिएको एक ट्याक्टर नियन्त्रणमा लिएर कारबाही गरिएको पनि जानकारी दिइएको छ । प्रहरीका अनुसार सामुदायिक सचेतनालाई पनि उत्तिकै प्राथमिकता दिइएको छ।
जिल्लाभर आत्महत्या न्यूनीकरण, बालविवाह, लागूऔषध तथा साइबर अपराध विरुद्ध ४८ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको र ती कार्यक्रममा करिब २ हजार १ सय ४१ नागरिकको सहभागिता रहेको तथ्याङ्क छ।
नागरिक सुनुवाइका क्रममा स्थानीयले पछिल्लो समय बढ्दै गएको आत्महत्या र साइबर अपराधका चुनौतीलाई सम्बोधन गर्न माग गरेका छन् । शान्ति सुरक्षालाई थप मजबुत बनाउन नियमित गस्ती तथा सूचना संकलनलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ।
