उपसभामुख निर्वाचन आज,लामा र ठाकुरबीच प्रतिस्पर्धा

काठमाडौं। प्रतिनिधिसभाको उपसभामुखका लागि आज निर्वाचन हुँदैछ। आज दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुख चयन गर्ने कार्यसूची रहेको हो।

उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरबीच प्रतिस्पर्धा हुने भएको छ। उपसभामुखको उम्मेदवारी दर्ता गर्नका लागि बिहीबार तोकिएको समयभित्र दुई जनाको मात्र उम्मेदवारी परेको हो।

रुवी कुमारीको प्रस्तावकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राई र समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोककुमार चौधरी र श्रम संस्कृतिकी सांसद अम्बिकादेवी निरौला रहेका छन्।

त्यस्तै, लामाले राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीलाई प्रस्तावक र राप्रपाकै अन्य सांसदहरू खुश्बु ओली, ताहिर अलि र भरत गिरीलाई समर्थक राखेर उम्मेदवारी दर्ता गराएकी थिइन्। 

प्रतिनिधि सभामा सत्तारुढ दल रास्वपाको एकल बहुमत छ। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको एक्लै १८२ मत छ। त्यसैले रास्वपाले मतदान ग¥यो भने उपसभामुखमा ठाकुर निर्वाचित हुने निश्चित छ।