औषधि विभागका महानिर्देशकलाई मन्त्रालय हाजिर हुन निर्देशन
काठमाडौं । स्वास्थ्य मन्त्री निशा मेहताले औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाललाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिएकी छन् ।
कानुनी प्रक्रिया पूरा नगरी विभागले औषधिको मूल्य बढाएपछि मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री मेहताले ढकाललाई मन्त्रालयमा हाजिर हुन भनेकी हुन् । विभागका महानिर्देशक ढकालले कानुनले तोकेबमोजिम प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरेको भनी मन्त्रिपरिषद् कार्यालयमा उजुरी परेको थियो।
त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार स्वास्थ्य सचिव डा विकास देवकोटालाई ७ दिनभित्र प्रतिवेदन बुझाउन भनेको थियो । प्रतिनिधि सभा बैठकमा सांसद राजीव खत्रीले महानिर्देशक ढकालविरुद्ध चलखेल गरेर औषधिको मूल्य वृद्धि गराएको आरोप लगाएका थिए । उक्त आरोपपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार बिहान ढकालसँग स्पष्टीकरण मागेको थियो ।
