उत्कृष्ट प्रहरी नै घुससहित पक्राउ

पोखरा । २०८१ सालको पुस महिनामा सम्पादन गरेका कार्यहरूको मूल्याङ्कनका आधारमा कास्की प्रहरीले वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीलाई ‘उत्कृष्ट प्रहरी’का रूपमा सम्मान गरेको थियो।

कास्की प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उनले सहकारी ठगी, सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका गम्भीर मुद्दाको अनुसन्धानमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उनलाई सम्मानित गरिएको थियो। आफ्नो पदीय दायित्वप्रति इमानदार, बफादार र कर्तव्यनिष्ठ रहँदै उच्च व्यावसायिक दक्षतासहित काम गरेको तथा प्रहरी संगठनको छवि उच्च राखेको मूल्याङ्कन गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको थियो।

तर, त्यही ‘उत्कृष्ट’ घोषित प्रहरी हवलदार शनिबार साँझ घुससहित पक्राउ परेका छन्। लागूऔषधसम्बन्धी मुद्दा मिलाइदिने बहानामा उनले सेवाग्राहीसँग घुसको डिल गरेका थिए। शनिबार सेवाग्राहीबाट ५० हजार रुपैयाँ लिँदै गर्दा उनलाई रंगेहात पक्राउ गरिएको हो। प्रारम्भिक जानकारी अनुसार उनले कुल ३ लाख रुपैयाँको माग गरेका थिए।

उक्त रकमसहित उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो। हाल उनी जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत रहेका थिए।

हवलदार थापामाथि यसअघि पनि सेवाग्राहीलाई दुःख दिने, फाइल लुकाइदिने र मुद्दा मिलाउने नाममा बार्गेनिङ गर्ने जस्ता आरोपहरू लाग्दै आएका थिए। उनीविरुद्ध अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र, मुख्यमन्त्री कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरी परेको बताइएको छ।

दरबन्दी प्रहरी चौकी अरुणखोलामा भए पनि पहुँचका आधारमा कास्कीमा काज सरुवा भई मुद्दा फाँटमा लामो समयदेखि कार्यरत रहेका उनीविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियार कार्यालय पोखराले जनाएको छ।