अनुसन्धान र नवप्रवर्तनलाई एउटै छातामुनि ल्याउने तयारी

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन ले विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रलाई संस्थागत र प्रभावकारी बनाउन आवश्यक कानुनी तथा संरचनागत आधार तयार गर्ने काम तत्काल अघि बढाइएको बताएका छन्।

मन्त्रालयको नेतृत्व सम्हालेपछि पहिलो चरणमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन विधेयक तयार गर्ने निर्णय गरिएको उनले जानकारी दिएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो पहिलो कार्यदिवसका निर्णय सार्वजनिक गर्दै मन्त्री पुनले नवगठित मन्त्रालय शून्य अवस्थाबाट सञ्चालन सुरु गर्नुपरेकाले आधारभूत संरचना, कानुनी व्यवस्था र कार्यप्रणाली निर्माणलाई प्राथमिकतामा राखिएको बताएका हुन्।

उनका अनुसार मन्त्रालय सञ्चालनका लागि सबैभन्दा पहिले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी स्पष्ट कानुनी आधार आवश्यक भएकाले ऐन निर्माण प्रक्रिया अघि बढाइनेछ। उनले मन्त्रालयको कामलाई व्यवस्थित, दिगो र परिणाममुखी बनाउन कानुनी ढाँचा अपरिहार्य रहेको उल्लेख गरेका छन्।

मन्त्री पुनले हाल विभिन्न मन्त्रालय तथा सरकारी निकायअन्तर्गत छरिएर सञ्चालन भइरहेका अनुसन्धान, प्रविधि विकास तथा नवप्रवर्तनसम्बन्धी कार्यक्रमलाई एकीकृत र प्रभावकारी बनाउने विषयमा तत्काल गहन छलफल सुरु गर्ने निर्णय पनि गरिएको बताए।

उनका अनुसार अनुसन्धान र नवप्रवर्तनसँग सम्बन्धित गतिविधिहरूबीच समन्वय अभाव हुँदा अपेक्षित परिणाम हासिल हुन नसकेको अवस्था रहेको छ। त्यसैले उपलब्ध स्रोत, जनशक्ति र लगानीलाई अधिकतम उपयोग गर्न समन्वित कार्यढाँचा निर्माणमा मन्त्रालयले विशेष ध्यान दिनेछ।

यस्तै मन्त्रालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक जनशक्ति, दरबन्दी संरचना तथा कार्यप्रवाह निर्धारणका लागि विस्तृत अध्ययन र सर्वेक्षण गरिने भएको छ। मन्त्रालयले कति कर्मचारी आवश्यक पर्छन्, कुन प्रकारका विज्ञता भएका जनशक्ति चाहिन्छन् र सेवा प्रवाहलाई कसरी छिटो तथा प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन अघि बढाइने मन्त्री पुनले बताएका छन्।

नेपालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रलाई आर्थिक विकास, औद्योगिक रूपान्तरण तथा रोजगारी सिर्जनासँग जोड्ने बहस लामो समयदेखि हुँदै आएको छ। तर अनुसन्धान तथा विकास (आर एन्ड डी) मा लगानी न्यून हुनु, विश्वविद्यालय, निजी क्षेत्र र सरकारी निकायबीच प्रभावकारी सहकार्यको अभाव हुनु तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने स्पष्ट नीतिगत संरचना नहुनु प्रमुख चुनौतीका रूपमा रहेको छ।

यसै पृष्ठभूमिमा स्थापना भएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले अनुसन्धान, नवप्रवर्तन, स्टार्टअप प्रवर्द्धन, डिजिटल रूपान्तरण तथा प्रविधि हस्तान्तरणजस्ता क्षेत्रमा दीर्घकालीन नीति निर्माण गर्ने अपेक्षा गरिएको छ।

मन्त्री पुनले मन्त्रालयलाई केवल प्रशासनिक संरचनामा सीमित नराखी अनुसन्धान, आविष्कार र नवप्रवर्तनमार्फत देशको आर्थिक तथा सामाजिक विकासमा योगदान दिने संस्थाका रूपमा विकास गर्ने संकेत दिएका छन्।

मन्त्रालयको पहिलो चरणको प्राथमिकतामा कानुनी संरचना निर्माण, अनुसन्धान तथा नवप्रवर्तन कार्यक्रमको समन्वय, आवश्यक जनशक्ति व्यवस्थापन तथा कार्यप्रणाली निर्धारण रहेका छन्। यी आधारभूत काम पूरा भएपछि विज्ञान र प्रविधिमा आधारित विकासका लागि थप नीतिगत तथा कार्यक्रमगत पहल अघि बढाइने अपेक्षा गरिएको छ।