वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति बदर गरेको छ। सरकारले गएको वैशाख ३१ गते ५ जना सदस्य नियुक्त गरेकोमा छनोट समितिले गरेको सिफारिसका योग्यता क्रमका आधारमा नगरी छानी–छानी गरेको भन्दै पहिलो नम्बरमा सिफारिस उपेन्द्रबहादुर कार्कीले रिट दायर गरेका थिए।

हिजो यस रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासले नियुक्ति बदर गर्ने आदेश दिएको हो । सरकारले डा.दीपक प्रसाद बास्तोला, प्रविन भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रुपा लामिछाने र लिलाराज ढकाललाई नियुक्त गर्ने निर्णय गरेको थियो।

सर्वोच्चले अब छनौट समितिको सिफारिसमा परेको योग्यताक्रमअनुसारका उम्मेदवारहरुलाई सुशासनको मूल्य एवं मान्यताको प्रतिकूल नहुने गरी आधार र कारणसहित पुनः निर्णय गर्न परमादेश समेत दिएको छ ।