परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चीन सरकारको मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि असार ३ गतेसम्म जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जाँदै छन् । हालै सम्पन्न भारत भ्रमणपछि मन्त्री खनाल चीन जान लागेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विषयमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने जनाइएको छ।

भ्रमणका क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय सरकारी अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन्।

त्यसैगरी, बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुँदै उनले नेपालमा वैदेशिक लगानी प्रवर्द्धनका विषयमा चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । मन्त्री खनालले बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागिता जनाउनेछन् । सो अवसरमा उनले चीनमा रहेका नेपाली समुदायसँग भेटघाट तथा छलफल गर्नेछन् ।

चारदिने भ्रमण सम्पन्न गरी मन्त्री खनाल असार ३ गते काठमाडौँ फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।