कोशीमा देउवा र कोइराला समूहको संयुक्त भेला

काठमाडौं । कोशी प्रदेशको विराटनगरमा आज नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहको संयुक्त प्रदेशस्तरीय भेला गर्ने भएका छन्।

१४औँ महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका डा.शेखर कोइरालालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको उक्त भेला दुवै समूहको संयुक्त आयोजनामा हुन लागेको हो। कांग्रेस कोशी प्रदेश कार्यसमितिका महामन्त्री भुपेन्द्र राईलेका अनुसार शेरबहादुर देउवाको पुरानो टिम र शेखर दाइको टिमको संयुक्त कार्यक्रम हो।

यसअघि देउवा समूहले एकल रूपमा आयोजना गरेका प्रदेश भेलामा कोइराला समूह सहभागी नभए पनि कोशीबाट दुवै समूहबीच सहकार्य सुरु गर्न लागिएको हो। विराटनगरको मनास्लु होटलमा हुने भेलामा कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा। शशांक कोइराला, डा। मिनेन्द्र रिजाल, बलबहादुर केसी र एनपी साउद प्रमुख वक्ताका रूपमा रहेका छन्।

इतर समूहले केन्द्रीय सदस्य राजीव कोइरालाको नाम प्रमुख वक्तामा राखिएको छ। देउवा समूहले यसअघि बागमती, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेशस्तरीय भेला गरिसकेको छ।