भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा, नेकपाले माग्यो सरकारको जवाफ
काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको विषय संसद्मा उठेको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सो विषय प्रतिनिधिसभाको बैठकमा उठाएका हुन्।
भारतीय सेनाको हेलिकप्टर दार्चुलाको भूमि हुँदै उडेको र त्यसमा भारतीय सेनाका कुनै प्रमुख व्यक्ति सवार रहेको भनेर उनले यो विषय संसद्मा राखेका हुन् । यसबारेमा उनले सरकारसँग जवाफ मागेका हुन्।
दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुको आकाशमा अनुमतिविना भारतीय हेलिकप्टर उडेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीका अनुसार जेठ २७ गते बिहान भारतीय सैनिक हेलिकप्टर नेपाली आकाश हुँदै कालापनीतर्फ उडेको थियो ।
भारतको इन्डो–टिबटेन बोर्डर पुलिस (आइटीबीपी)का डिजी शत्रुजीतसिंह कपूर सवार हेलिकोप्टर दार्चुलाको छाङरुको आकाश हुँदै कालापानी गएको पाइएको स्थानीय प्रशासनले जनाएको छ ।
सशस्त्र प्रहरी बलमार्फत जानकारी आएपछि यस विषयमा जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा मौखिक जानकारी गराएको थियो । आईटीबीपी प्रमुख कपुर कालापानी क्षेत्रको गुञ्जीस्थित ब्यारेक निरीक्षण गर्न गएको बुझिएको छ।
