सरकारलाई गिरिबन्धु टी-स्टेटको फाइल खोल्न एमालेको चुनौती

काठमाडौं। नेकपा एमालेले सरकारलाई गिरिबन्धु टी-स्टेटको फाइल खोल्न चुनौती दिएको छ । सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेकी उपनेता पद्या अर्यालले विवादित भनिएका सबै फाइल खोल्न सरकारलाई चुनौती दिएकी हुन्। उनले बजेटको छलफलका क्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विपक्षीलाई लक्षित गर्दै ‘फाइल खोल्ने’ चेतावनी दिएको आरोप लगाउँदै उनले टी–स्टेट प्रकरणको फाइल पहिलो प्राथमिकता राखेर खोल्न चुनौती दिइन्।

उनले विपक्षीसँग जोडिएका भनिएका ओम्नी, वाइडबडीलगायतका सबै प्रकरणको छानबिन गर्न पनि आग्रह गरिन् । उनले विपक्षीमाथी लगाइएका आरोपहरू छानबिनबाट पुष्टि नभएमा आरोप लगाउनेहरूले त्यसको जिम्मेवारी लिन तयार छन् कि छैनन् ? भन्दै उनले प्रश्न गरिन् । सरकारको जिम्मेवारीमा रहेका व्यक्तिले संसद्मा विपक्षीलाई धम्क्याउने शैली अपनाएको भन्दै अर्यालले त्यसलाई खेदजनक भएको बताइन् ।

उनले भनिनन् , ‘प्रतिपक्षीले बजेटका सम्बन्धमा राखेका सल्लाह, सुझाव प्रश्न गर्दै गर्दा अर्थमन्त्रीजीले जवाफ दिने क्रममा जे चीज बताउनुभयो, त्यो आपत्तीजनक छ।

कसलाई लक्षित गर्नुभयो रु उनले फाइल खोल्ने धम्की दिनुभएको छ, म भन्न चाहन्छु, टी स्टेटको फाइल पहिलो नम्बरमा खोलियोस्, म आग्रह गर्न चाहन्छु, त्यसपछि विपक्षीसंग जोडिएका ओम्नी हुन् की वाईडवढी हुन की के के फाइल हुन, तपाईँहरूको हातमा छ,सरकारलाई भन्न चाहन्छु, यो सदनमार्फत ती खोलियोस्। साँचो कुरा के हो ? त्यो बाहिर ल्याईयोस्।

यद्यपी आज लगाइरहेका आरोपहरू साबित भएनन् भने, छानबिनले सत्य ठहरिएनन् भने मान्छेमा स्वाभिमानमाथी आँच आउने, गम्भीर आरोपहरू लगाउने अनि त्यसको जिम्मेवारी लिएर कठघरामा उभिने आँट उहाँले गर्नुहुन्छ, कि गर्नुहुन्न ?

यस्तै उनले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणमा दिएको अभिव्यक्तिको पनि आलोचना गरिन् । परराष्ट्रमन्त्रीले ‘अतीतको बोझ बोक्न सक्दैनौँ’ भन्ने अभिव्यक्ति दिएर राष्ट्रवादी अडान कमजोर बनाएको उनको आरोप छ। उक्त अभिव्यक्ति नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी दाबीलाई संकेत गरेको हो कि भन्ने गम्भीर प्रश्न उठेको उनको भनाइ छ ।

उनले भनिनन्, ‘परराष्ट्रमन्त्री भारतको भ्रमणमा जानुभयो, भारत भ्रमणमा गएर नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाउनुहुनेछ, हाम्रो बीचमा भएका जे असमझदारी हुन्, ती असमझदारीहरूलाई कायम गराउन सहयोग पु¥याउनुहुनेछ भन्ने हाम्रो विश्वास थियो। तर दुर्भाग्यको कुरा न्यानो आथित्यतामा रमाउँदै विछ्याईएको कार्पेटहरुलाइै कुल्चिदै उहाँले राष्ट्रवादलाई भुल्नुभएछ। हामीले सुन्यौ, हामीले अतीतको बोझलाई बोक्न सक्दैनौ भनेर रातो कार्पेटभित्र छोपिएको राष्ट्रघाती अभिव्यक्ति परराष्ट्रमन्त्रीले दिनुभयो।

यता प्रधानमन्त्रीले विदेशीको जमिन अतिक्रमण गरेको अभिव्यक्ति दिने, उतातिर परराष्ट्रमन्त्रीले समकक्षीसँग बस्दै इतिहासको बोझ बोक्न नसक्ने कुरा गर्ने। सभामुख महोदय, ‘पारी बाघ कराएको, वारी बाख्रो हराएको’ यो युक्तिलाई आज चरितार्थ गरिरहेको छ। यस विषयमा केही आशङ्का, केही जिज्ञासा र गम्भीर प्रश्नहरू खडा भएको छ, साँच्चै उहाँले त्यो के चीजलाई भन्न खोज्नु भएको हो।

अतीतको बोझ बोक्न सक्दैनौ भनेर के चीजलाई भन्न खोजेको हो रु हामी त्यसको जवाफ माग्न चाहन्छौँ ? संसद्मा राष्ट्रियताको पक्षमा छलफल गर्दै गर्दा उहाँले हाम्रो कालोपानी, लिपुलेक, लिम्पियाधुरा लगायतका अतिक्रमित जमिनहरू नेपालको दावालाई हामीले बोक्न सक्दैनौ भन्न खोज्नुभएको हो ? या अरू कुनै राष्ट्रिय महत्वको कुराहरूलाई भन्नुभएको हो?

आज सीमानामा नेपालीहरू सीमा रक्षाको लागी लडिरहेका छन्, त्यही सीमा रक्षामा लडिरहेका नेपालीको बोझलाई मैले बोक्न सक्दिन भन्नुभएको हो रु यस्ता गम्भीर प्रश्नहरू हाम्रो सामु खडा भएका छन्।

उनले सरकारका मन्त्रीहरूले सार्वजनिक रूपमा व्यक्त गर्ने धारणा राष्ट्रको नीतिसँग जोडिने भएकाले राष्ट्रिय हित र परराष्ट्र नीतिलाई कमजोर बनाउने अभिव्यक्तिबाट बच्नुपर्ने बताइन्।