प्रधानमन्त्री र मन्त्रीहरूलाई अभिव्यक्तिमा संयम अपनाउन विश्वप्रकाशको सुझाव
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई आफ्ना मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन आग्रह गरेका छन्।
भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले काममा ढिलाइ गर्ने निर्माण व्यवसायीको ‘खुट्टा भाँच्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएकोमा शर्माले यस्तो टिप्पणी गरेका हुन्।
भिडिओ सन्देशमार्फत प्रतिक्रिया दिँदै उनले राज्य सञ्चालनमा आवेगभन्दा विधि, कानुन र जिम्मेवार अभिव्यक्तिको आवश्यकता रहेको बताएका हुन्। उनले मन्त्रीको उक्त भनाइ उल्लेख गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिका शब्दले समाजमा कस्तो सन्देश दिन्छ भन्ने विषयमा गम्भीर बन्न आवश्यक रहेको बताएका हुन् ।
शर्माले पछिल्ला केही घटनाहरू स्मरण गराउँदै धनगढीमा श्रमिक महिलाको टेम्पो भीरबाट धकेलिएको घटना तथा सिराहाको परीक्षा केन्द्रमा फेला परेका पाँच सयभन्दा बढी मोबाइल पानीमा डुबाएर नष्ट गरिएको प्रसङ्ग पनि उठाएका छन् । यस्ता गतिविधिले समाजमा दण्ड र आक्रोशलाई समाधानको माध्यम बनाउने प्रवृत्ति बढ्न सक्ने उनको चिन्ता छ ।
प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले भिडियोमा भनेका छन्, “हामी कस्तो समाजतर्फ जाँदैछौँरु” चुनावी अभियानका क्रममा बाटो निर्माणमा ढिलाइ भए ‘रुखमा बाँधेर समाधान गर्नुपर्छ’ भन्ने अभिव्यक्तिसमेत स्मरण गराउँदै उनले कानुनी शासनभन्दा आक्रामक शैलीलाई प्राथमिकता दिने प्रवृत्तिबारे सचेत हुन आग्रह गरे ।
उनले समस्या समाधानको बाटो कठोर भाषण नभई, जिम्मेवार नेतृत्व र कानुनी प्रक्रियाबाट खोजिनुपर्ने बताएका छन् । मन्त्री लम्सालेको अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भइरहेको छ । अहिलेको सरकारमा रहेका प्रधानमन्त्रीदेखि मन्त्रीहरुपनि बोलीकै कारण पटकपटक विवादमा पर्दै आएका छन् ।
