अध्ययन बिदा दुरुपयोग गर्ने ५० प्राध्यापकले फिर्ता गरे ११ करोड ८४ लाख

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र तलब भत्ता फिर्ता गर्न सूचना जारी गरेको छ।अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिका संयोजक डा। जीवन काफ्लेका अनुसार अन्तिम पटक १५ दिनको समय दिइएको हो।

समितिले खोजबिन गर्दा ३९८ जना प्राध्यापकले बिदाको दुरुपयोग गरेको पाइएको छ । यसबाट त्रिविलाई २ अर्बभन्दा बढी घाटा भएको छ। समितिका अनुसार हालसम्म ५० जनाले ११ करोड ८४ लाख रुपैयाँ फिर्ता गरेका छन् । रकम फिर्ता गर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. आनन्द चन्द (४४ लाख ५६ हजार) र नेपाली कांग्रेसका सांसद जगत तिमिल्सिना (३३ लाख ५० हजार) पनि छन् ।

त्रिविको नियमअनुसार अध्ययन बिदा लिएपछि तोकिएको अवधि सेवा गर्नुपर्ने हुन्छ । नफर्किएमा बिदामा लिएको तलब भत्ता १० प्रतिशत ब्याजसहित फिर्ता गर्नुपर्ने कबुलियतनामा हुन्छ । तर धेरैले राजीनामा दिएर रकम फिर्ता नगरेको पाइएको छ ।

मानविकी सङ्कायमा ११४, विज्ञानमा १०६ र इन्जिनियरिङमा ९९ जना गरी विभिन्न सङ्कायका प्राध्यापक यो सूचीमा छन् । असार मसान्तसम्म समितिले प्रतिवेदन विश्वविद्यालयलाई बुझाउने छ । सरकारको निर्देशनअनुसार कानुनी प्रक्रिया अघि बढाइने भएको छ ।