राजेन्द्र लिङ्देनलाई पार्टी कार्यालय रहेको घर खाली गर्न ३५ दिने अल्टिमेटम
काठमाडौं । राप्रपा पूर्वउपाध्यक्ष दिलविकास राजभण्डारीले पार्टी कार्यालय रहेको आफ्नो धुम्बाराहीस्थित घर खाली गर्न अध्यक्ष राजेन्द्र लिङ्देनलाई ३५ दिने अल्टिमेटम दिएका छन्।
घर खाली गर्न माग गर्दै लिङ्देनलाई खुलापत्र लेख्दै राजभण्डारीले लिङ्देनले पार्टीमा गुटबन्दी गरेको, कार्यकर्ताको भरोसामाथि घात गरेको, आर्थिक अपारदर्शिता देखाएको र समानुपातिक सिट बेचेको आरोप लगाएका छन् ।
राजभण्डारीले लिङ्देनको जीवनशैली र सम्पत्तिमाथि प्रश्न उठाउँदै भनेका छन्, “पहाडमा ढिँडो खान नपाउने तपाईँको राजधानीमा आलिसान भवन, इलाममा रिसोर्ट र अमेरिकामा घर कसरी बन्यो ? यसैगरी उनले लिङ्देनमाथि गाडी चोरी, जग्गा हडप्ने र ज्यान सम्बन्धी मुद्दामा जेल सजाय भोगेको आरोप पनि लगाएका छन् ।
राजभण्डारीले हालै महामन्त्री धवलशम्शेर राणासँगै पार्टी छाडेका थिए । उनले २०७९ निर्वाचनमा लिङ्देन र कोषाध्यक्ष निलकण्ठ काफ्लेबाट ४५ लाख ऋण लिएकोमा १० लाख मात्र फिर्ता भएको र बाँकी ३५ लाख तुरुन्त फिर्ता गर्न माग गरेका छन् । ‘तपाईँले पार्टी डुबाउनुभयो, अब मेरो घर खाली गर्नुहोस्,उनले खुलापत्रमा भनेका छन्।
