अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनिएको भन्दै छानबिनको माग
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनिएको भन्दै नेपाली कांग्रेसले प्रश्न उठाएको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनिएको विषय उठाएका हुन् ।
‘संवैधानिक निकायका प्रमुख अख्तियार दुरुपयोग आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर प्रधानमन्त्री कार्यालयबाटै पक्राउ पुर्जी जारी गर्न बाध्य बनाइने । नत्रभने प्रधानमन्त्री कार्यालयभित्रै निज पदाधिकारीहरूलाई थुन्ने धम्कीका साथमा पक्राउ पुर्जी जारी भएको कुरा बाहिर आएको छ,’ केरुङले भने।
यो विषय साँचो हो भने संसदीय छानबिन समिति गठन गर्नुपर्ने उनको माग छ । यो विषयमा प्रधानमन्त्री बालेन स्वयमले संसद्लाई जानकारी गराउनुपर्ने र यस निम्ति सभामुखले रुलिङ गर्नुपर्ने उनको आग्रह छ।
