आन्तरिक लोकतन्त्र र विधिमा सम्झौता हुँदैन: रवि लामिछाने

फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको आन्तरिक लोकतन्त्र र विधिको शासनमा आफूले कहिल्यै सम्झौता नगर्ने दृढता व्यक्त गरेका छन्।

प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा शनिबार चितवनको भरतपुरस्थित दियालो फुडल्यान्डमा आयोजित केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन्।

बैठकलाई सम्बोधन गर्ने क्रममा केही भावुक देखिएका लामिछानेले पार्टी स्थापनादेखि अहिलेसम्मको यात्रा चुनौतीपूर्ण रहेको स्मरण गरे। निर्वाचन आयोगमा दल दर्ता गर्न जाँदाका सुरुवाती दिन र समावेशितालाई ध्यान दिँदै आवश्यक २१ जना सदस्य जुटाउन गरिएको संघर्षले आफूलाई आज गौरवान्वित तुल्याएको उनको भनाइ थियो।

‘पार्टी स्थापनाको समयमा हामीले जुन जगबाट यात्रा सुरु गरेका थियौं, आज यहाँसम्म आइपुग्दा यो सफलता सबैको सामूहिक प्रयासको प्रतिफल हो,उनले भने।

सभापति लामिछानेले महाधिवेशनले पार्टीलाई वैधानिकता र संस्थागत सुदृढिकरणतर्फ लैजाने महत्त्वपूर्ण खुड्किलो भएको उल्लेख गरे। केही समयअगावै महाधिवेशन सम्पन्न गर्ने तयारी भए पनि विभिन्न राजनीतिक र कानुनी आरोह–अवरोहका कारण ढिलाइ भएको उनले स्वीकार गरे।

उनले भने, ‘हामीले महाधिवेशन केही अगाडि नै गर्नुपर्ने थियो, तर विभिन्न घटनाक्रमले यसलाई पछाडि धकेल्यो। अब थोरै अनुकूलता मिल्नेबित्तिकै हामी महाधिवेशनको प्रक्रियामा प्रवेश गरेका छौं।’

पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा उनले जोड दिए। संस्थापक सभापतिका रूपमा आफूले पार्टीका साथीहरूको अधिकार कुण्ठित हुन नदिने प्रतिबद्धता जनाउँदै उनले भने,आन्तरिक लोकतन्त्र र निष्ठा मेरो लागि सम्झौता गर्ने विषय होइनन्। पार्टीका साथीहरूको अधिकार कुण्ठित भयो भने त्यसले ढिलो(चाँडो दुर्घटना निम्त्याउँछ। त्यसैले हामी होसियारी र सुझबुझका साथ अघि बढ्नुपर्छ।’

उनले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानको मर्मलाई आत्मसात् गर्दै अघि बढ्ने बताए। देशलाई सुशासन, समृद्धि र सामाजिक न्यायको बाटोमा लैजान रास्वपाले एउटा स्पष्ट सपना देखेको र उक्त सपना पूरा गर्न सबै एकजुट हुनुपर्नेमा उनको आग्रह थियो।

विगतका त्याग र बलिदानको जगमा उभिएर नै आजको परिवर्तन सम्भव भएको भन्दै उनले ती उपलब्धिको रक्षा गर्नु सबैको दायित्व भएको उल्लेख गरे।

सम्बोधनका क्रममा सभापति लामिछानेले अप्ठ्यारो र संकटको समयमा साथ दिने केन्द्रीय सदस्य तथा नेता–कार्यकर्ताप्रति आभार प्रकट गरे। आफूमाथि लागेका विभिन्न आरोप र कानुनी प्रक्रियाका बेला पार्टी परिवारले देखाएको ऐक्यबद्धताले थप ऊर्जा मिलेको उनको भनाइ थियो।

मलाई हतकडी लगाउन प्रहरी कार्यालय छिर्दादेखि अप्ठ्यारो पर्दाका हरेक क्षणमा तपाईंहरूले जुन विश्वास देखाउनुभयो, त्यसले मलाई थप जिम्मेवार बनाएको छ,उनले भने।

आगामी नेतृत्व चयनका लागि हुने प्रतिस्पर्धालाई स्वस्थ र मर्यादित बनाउन आह्वान गर्दै उनले महाधिवेशनले सक्षम नेतृत्व छनोट गर्ने विश्वास व्यक्त गरे। रास्वपाले परम्परागत राजनीतिभन्दा फरक र जनताको हितमा केन्द्रित रहेर कार्य गर्ने भएकाले यस महाधिवेशनमा सबैको चासो रहेको उनले बताए।

केन्द्रीय समितिको यो अन्तिम बैठकले महाधिवेशनका लागि प्रस्तुत गरिने विधान संशोधन र अन्य प्रतिवेदनहरूलाई अन्तिम रूप दिँदैछ।