निर्मला हत्या प्रकरण :आईजीपी खनालको बदमासी,धम्की र प्रलोभन देखाएर अपराध स्वीकार्न दबाब


काठमाडौं  पाैष ८।  कञ्चनपुरकी बालिका निर्मला हत्या प्रकरण र प्रहरीको छानबिनका सन्दर्भमा राष्ट्रिय सभाको दीगो विकास तथा सुशासन समितिको मंसिर २४ गतेको बैठकमा सांसद र प्रहरी महानिरीक्षक ,आईजीपी, सर्वेन्द्र खनालबीच छलफल भइरहेको थियो ।

छलफलका क्रममा आईजीपी खनालले अनुसन्धान साघुरिँदै गएको बताए । त्यतिबेला निर्मला हत्याकाण्डमा संलग्न रहेको आशंकामा प्रहरीले कञ्चनपुरका प्रदिप रावल र विशाल चौधरीलाई पक्राउ परेर हिरासतमा राखेको थियो । दुवै संदिग्धले ‘अपराध स्वीकारेको’ भनेर प्रहरी स्रोतले नै सूचना चुहाइरहेको थियो ।

 

आईजीपी खनालले छलफलमै भने, ‘मैले चाहेर पनि कसैलाई लुकाउन दबाब दिन सक्ने अवस्था हुँदैन । यदि दबाब दिएको भेट्टाउनुभयो भने संसदबाट मेरो बर्दी फुकालिदिनुस् ।’ आईजीपीले बर्दी फुकाल्ने कुरा गरेको सन्दर्भमा धेरै चर्चा पनि भयो । यसैबीच उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि निर्मला पन्तका हत्यारा सार्वजनिक गर्ने तयारी भइरहेको र प्रक्रिया मिलाएर सार्वजनिक गरिने बताए । तर खै हत्यारा रु अझै सार्वजनिक भएका छैनन् ।

आईजीपी खनालको बदमासी

निर्मला पन्तका बलात्कारी–हत्यारा सार्वजनिक गर्न माग गर्दै सडक आन्दोलन चर्किरहेको थियो । त्यति नै बेला गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायत राजनीतिक नेतृत्वबाट अपराधी पत्ता लगाउन दबाब बढिरहेको थियो । आईजीपी खनालले जुक्ति निकाले – १–२ जना पक्राउ गर्ने र नेतादेखि जनतासम्मलाई अल्झाउने । आईजीपी खनालको नक्कली जुक्तिको शिकार भए – प्रदिप रावल र विशाल चौधरी । प्रदिप रावललाई काठमाडौंबाट पक्राउ गरेपछि प्रहरीले कञ्चनपुरबाट विशाल चौधरीलाई पक्राउ गरेर काठमाडौं ल्यायो । आईजीपी खनाल स्वयं दुवैको बयान लिन प्रत्यक्ष सक्रिय भए ।

 

आईजीपीले बयान लिएको र अपराध स्वीकारेको भनेर सञ्चारमाध्यममा पनि व्यापक फैलाइयो । तर आईजीपी सा’पको नक्कली नाटक त्यतिबेला पर्दाफास भयो, जतिबेला निर्मलाको हत्या भएको दिन प्रदिप र विशाल प्रहरी हिरासतमा रहेको सार्वजनिक भयो । आईजीपीले नक्कली नाटक गरिरहेको पर्दाफास भएको केही दिनमै दुवैको डीएनए नमिलेको भन्ने खबरले पुष्टि गरिदियो । प्रहरीले औपचारिक रुपमा डीएनए नमिलेको भनेर सार्वजनिक गरेको छैन । तर दुवैले अपराध स्वीकारेको भनेर फटाफटा सार्वजनिक गर्ने गरिएको थियो । राष्ट्रिय दैनिक पत्रिकामा प्रमुखताका साथ अपराध स्वीकारेका समाचार प्रकाशित हुने गरेका थिए । निर्दोष व्यक्तिलाई अपराधमा मुछेर प्रमाणित नहुँदै खबर सार्वजनिक गराउनु अर्को अपराध होइन र ?

धम्की र प्रलोभन देखाएर अपराध स्वीकार्न दबाब

निर्मला हत्या प्रकरणमा फसाउन सकिने नदेखेपछि प्रहरी नेतृत्वले विशाल चौधरीलाई छाडेको छ । तर प्रदिप रावतलाई फसाउने कोसिस अझै जारी नै राखेको छ । प्रदिपलाई प्रहरीले छाडेको छैन र डीएनए नमिलेको सार्वजनिक गर्न गरिरहेको छैन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा हिरासतमुक्त भएपछि विशाल चौधरीले यातना, धम्की र प्रलोभन देखाएर अपराध स्वीकार्न लगाएको बताए । बन्दुक देखाउँदै प्रहरीले ज्यान मार्ने धम्की दिने गरेको विशालले बताएका छन् । प्रहरीले मारिदिने धम्की दिएपछि डरले प्रहरी र बाबुको अगाडि अपराध स्वीकार गरेको विशालले बताए ।

निर्दोष फसाउने प्रयासको निरन्तरता

निर्मला पन्तको हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख प्रमुख एसपी डिल्लीराज विष्ट र केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० का डीएसपी अंगुर जिसीले निर्दोष दिलिपसिंह विष्टलाई फसाउन धेरै कोसिस गरेका थिए । नक्कली प्रमाण बनाउन दिलिपलाई फसाउन खोजिएको सार्वजनिक भएपछि जनआक्रोश बढ्यो र दुवै प्रहरी अधिकृत उल्टै फसे ।

 

पछिल्लो समय प्रदिप र विशाललाई फसाउने प्रकरणमा समेत निर्दोषलाई फसाउन निरन्तरता देखिएको छ । यो निरन्तरतामा संलग्न देखिएका छन्। आईजीपी सर्वेन्द्र खनाल । हत्यामा संलग्न अपराधी खोज्नुपर्ने बेला प्रहरी नेतृत्व नै किन निर्दोषलाई फसाउनतिर लागिररहेको छ रु प्रश्न गम्भीर छ । आईजीपी खनालले अझै पनि प्रदिपलाई फसाउन कोसिस जारी राखेका छन् । बर्दी फुकाल्ने धाक लगाउने आईजीपीले नै निर्दोषलाई फसाउन अनेक प्रपञ्च गरिरहेको देखिएपछि अब के गर्छन् रु हत्या स्वीकार्न धम्की र प्रलोभन दिएको भनेर विशालले सार्वजनिक गरिसकेकाले आईजीपीले आफैं बर्दी फुकाल्छन् कि गृहमन्त्रीले हटाउँछन् हेर्न बाँकी छ ।