यी हुन् एकीकृत समाजवादीले दाबी गरेका मन्त्रालयहरू ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वासको मत प्राप्त गरेसँगै सत्ता गठबन्धनमा रहेका दलहरुले सरकार विस्तारबारे आन्तरिक छलफल सुरु गरेका छन्।

गठबन्धनमा रहेकाे नेकपा (एकीकृत समाजवादी)ले विश्वासको मत दिएको तेस्रो ठूलो दल रास्वपा सत्तासाझेदार दलको बैठकमा उपस्थित नभएकाले केन्द्र र प्रदेश सरकारबारे छलफल थालेको हो।

आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य रहेका छन्।

पार्टी उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार कार्यदलले प्रदेश र केन्द्र सरकारबारे विभिन्न पक्षसँग छलफल गरी प्रस्ताव केन्द्रीय सचिवालयमा ल्याउने छ।

प्रदेश र केन्द्रको सरकारहरुबारे छलफल गरी निर्णयमा पुग्नका लागि प्रस्ताव तयार गरी केन्द्र सचिवालयमा ल्याउन कार्यदल बनाइएको हो,बैठकपछि खतिवडाले भने।

 सचिवालय बैठकमा सरकारमा जाँदा जनतासँग जोडिएर काम गर्ने खालका सुझाव आएको एकीकृत समाजवादीका एक पदाधिकारीले जानकारी दिए। उनका अनुसार त्यस्ता मन्त्रालयहरुमा कृषि,ऊर्जा तथा सिँचाइ र युवा तथा खेलकुद मन्त्रालय रहेका छन्।

अहिले जनतासँग जोडिएर बढीभन्दा बढी काम गर्न सकिने मन्त्रालय लिनुपर्छ भन्ने सुझाव आएको छ,एकीकृत समाजवादीका ती पदाधिकारीले भने, पावरफुल मन्त्रालयहित त्यसरी काम गर्नका लागि कृषि,ऊर्जा तथा सिँचाइ र युवा तथा खेलकुद मन्त्रालय हुनसक्छन् भन्ने सुझाव आएको छ।