शेयर बजार ४.२७ अंकले घट्यो

काठमाडौं। साताको तेस्रो दिन मंगलबार शेयर बजार ४ ब्दशमलव २७ अंकले घटेको छ । साताको पहिलो कारोबार दिन १९ दशमलव १० अंकले घटेको शेयर बजार मापन गर्ने नेप्से परिसूचक मंगलबार ४ दशमलव २७ प्रतिशतले घटेर १८ सय ६६ दशमलव ४० अंकमा ओर्लिएको हो ।

नेप्से परिसूचक घट्दा कारोबार रकम भने करिब ७० करोड रुपैयाँमा सिमित भएको छ । यस्तै दिनभर कुल २ सय ७१ कम्पनीको २३ लाख ३६ हजार कित्ता शेयर ६९ करोड २२ लाख रुपैयाँ बराबरमा मात्रै कारोबार भएको छ । आइतबार ९५ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

नेप्से परिसूचक र कारोबार रकम घटेको दिन विकास बैंक, वित्त, होटल र पर्यटन, बीमा, उत्पादनमूलक, म्युचुअल फण्ड र अन्य समहूको परिसूचकमा भने हरियाली छाएको छ।

बाँकी वाणिज्य बैंक, जलविद्युत, लगानी, लघुवित्त, निर्जिवन बीमा र व्यापार समहूको परिसूचक भने राताम्य भएका छन्। आज कारोबार रकमको आधारमा हिमालयन डिस्टिलरी लिमिटेडको सबै भन्दा धेरै २ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

यस्तै, दोस्रोमा नेपाल टेलिकमको २ करोड २८ लाख र तेस्रोमा शिवम् सिमेन्टको २ करोड १५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबै भन्दा धेरै ८ दशमलव २० प्रतिशतले वृद्धि हुँदा स्वीट गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्य सबै भन्दा धेरै ४ दशमलव ७० प्रतिशतले घटेको छ। मिथिला लघुवित्त बित्तीय संस्था लिमिटेडको शेयर मूल्य पनि ४ दशमलव ५७ प्रतिशतले घटेको छ।