टी-२० विश्वकप छनोट: नेपालको सिंगापुरमाथि सहज जित

काठमाडौं। टी–२० विश्वकप फाइनल एसियामा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो।

नेपालको जितमा कुशल भुर्तेलले ७४ रन योगदान गरे। यसैगरी आसिफ शेखले २७ रन बनाए। कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट रहे।