ललितपुर जिल्लामा आयुर्वेद सेवाको प्रवर्द्धन गर्न पत्रकारसँग अन्तरक्रिया सम्पन्न

ललितपुर। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरले आज (बुधबार) आयुर्वेद सेवाको प्रवर्द्धन गर्न ललितपुरमा पत्रकारहरूसँग अन्तरक्रिया क्रार्यक्रम सम्पन्न गरिएको छ। पछिल्लो समय जुर्मुराउँदै गरेको आयुर्वेद सेवाको थप प्रवर्द्धन गर्न स्थानीय पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएकाे थियाे। केन्द्रका सञ्चालक समिति अध्यक्ष सूर्यमान श्रेष्ठको सभापतित्वमा सो कार्यक्रम आयोजना गरिएको हाे।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरकाे कार्यालयकै कक्षमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाका पदाधिकारी,कार्यसमिति सदस्यसहित अन्य पत्रकारहरूकाे समेत सहभागिता रहेको थियाे। 

कार्यक्रमका सहभागीलाई प्रमुख डा.सृष्टि श्रेष्ठले स्वागत गरेकी थिइन। सम्बोधनका क्रममा ललितपुर जिल्ला भित्रका विभिन्न स्थानमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आयुर्वेद स्वास्थ्यसम्बन्धी सेवा दिइरहेको जानकारी दिइन्।

आयुर्वेद स्वास्थ्यकाे थप प्रवद्र्धन गर्न आवश्यक रहेको डा. श्रेष्ठ बताइन्। केन्द्र र मातहतबाट प्रदान हुने सेवा बारे धेरै भन्दा धेरै प्रवद्र्धन गरी जनजनमा पुर्याइदिन पत्रकारहरूलाइ डा.श्रेष्ठ आग्रह गरेकी छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानेले पत्रकार स्वयम्ले पनि आयुर्वेद स्वास्थ्य पद्धति अनुसरण गर्न आवश्यक रहेको बताए।

अहिलेकाे अवस्थामा नसर्ने किसिमका रोगलाई आयुर्वेद सेवा अत्यन्तै प्रभावकारी देखिएको भन्दै उनले पत्रकारिताको माध्यमबाट आयुर्वेद क्षेत्रको थप प्रवद्र्धन गर्न आवश्यक रहेको उल्लेख गरे। आयुर्वेदको सेवालाई कार्यालय र औषधालयमा मात्रै सीमित नगरेर हरेक स्थानीयसम्म  पुर्याउनु आवश्यक रहेको बताए।

पहिलो सत्रको कार्यक्रमलाई समापन गर्दै केन्द्रका अध्यक्ष सूर्यमान श्रेष्ठले केन्द्रको अथक प्रयास र पत्रकारहरुको साथ र सहयोगले विरामीको आकर्षण बढेको बताए।

दैनिक रुपमा ४०–५० जना विरामी उपचारको लागि केन्द्रमा आउने गरेको उनले सुनाए। केन्द्रले गुणस्तरीय र सर्वसुलभ सेवा उपलब्ध गराइरहेकोले यसको थप प्रवद्र्धन गरी समाजलाई सुसूचित गरिदिन पत्रकारहरुलाई आग्रह गरे।

कार्यक्रमको दोस्रो सत्रमा केन्द्रकी प्रमुख डा.सृष्टि श्रेष्ठले आयुर्वेदको महत्त्व,आवश्यकता,केन्द्रले दिइरहेको सेवा,पत्रकारको भूमिका लगायतका विषयमा प्रस्तुति दिएकी थिइन्।

कार्यक्रमलाई केन्द्रकी वरिष्ठ वैद्य तथा योग प्रशिक्षक जानुका भट्टराईले सहजिकरण गरेकी थिइन्। केन्द्रमा हरेक बुधबार नियमित रुपमा आयोजना हुँदै आएको पथ्यआहार सेवाग्राही र सहभागी पत्रकारहरुलाई ग्रहण गराइएको थियो।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरले ओपीडी सेवा, पञ्चकर्म/पूर्वकर्म, योग सेवा, ल्याब सेवा, सशुल्क फार्मेसी, स्तनपायी आमाहरूका लागि मातृशिशु सुरक्षार्थ दुग्धवर्धक औषधि वितरण, ज्येष्ठ नागरिक स्वास्थ्थ प्रवध्र्दन सेवा कार्यक्रम सञ्चालन गर्दै आएको प्रमुख डा.सृष्टि श्रेष्ठ बताएकी छन्।