नेपाली र विदेशी यात्रुको अध्यागमन प्रक्रियामा कडाइ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले कर्मचारीहरूको जिम्मेवारी र जबाफदेहिता सुनिश्चित गर्न ‘एकीकृत जबाफदेहिता फ्रेमवर्क, २०८२’ लागू गरेको छ । यो फ्रेमवर्कले कर्मचारीहरूको कार्य, कर्तव्य र अधिकारलाई स्पष्ट गरी उनीहरूलाई पूर्ण जबाफदेही बनाउने उद्देश्य राखेको छ ।
कार्यालयका अनुसार यो फ्रेमवर्क आज ९१४ जुलाई २०२५० देखि कार्यान्वयनमा आएको छ। फ्रेमवर्क विमानस्थलको अध्यागमन प्रक्रियामा बारम्बार देखिने कमजोरी, विवाद र अनियमितता नियन्त्रण गर्न तयार गरिएको हो। यसले कुनै त्रुटि वा समस्या देखिएमा प्राथमिक र अन्तिम जबाफदेही कर्मचारी किटान गरी कारबाहीको प्रक्रिया थाल्ने भएको छ।
मुख्य व्यवस्थाहरूफ्रेमवर्कले अध्यागमन प्रक्रियालाई तीन मुख्य खण्डमा विभाजन गरी कारबाहीका प्रावधानहरू समेटेको छ ।
१-नेपाली नागरिकको प्रस्थानमा कडाइन
नक्कली वा फर्जी कागजात प्रयोग गरी यात्रा गर्ने यात्रु र संलग्न म्यानपावर र कन्सल्टेन्सीमाथि मुलुकी अपराध संहिताअनुसार कारबाही हुनेछ ।
अधुरा कागजात
आवश्यक कागजात नपुगेका यात्रुलाई प्रस्थान अनुमति दिने डेस्क अधिकृत प्राथमिक जिम्मेवार र सुपरिवेक्षक (वरिष्ठ अध्यागमन अधिकृत) अन्तिम जबाफदेही हुनेछन् । उनीहरूमाथि छानबिन र कारबाही अघि बढाइनेछ।
प्रतिबन्धित यात्रु
यात्रामा प्रतिबन्धित व्यक्तिलाई प्रस्थान अनुमति दिएमा सम्बन्धित एयरलाइन्सलाई जिम्मेवार ठहर्याई नेपाल नागरिक उड्डयन प्राधिकरणमा कारबाहीका लागि सिफारिस गरिनेछ ।
२- विदेशी नागरिकको आगमन र बसाइमा निगरानी
नेपाल प्रवेशमा रोक लगाइएका व्यक्तिलाई भिसा वा आगमन अनुमति दिने अधिकृत जबाफदेही हुनेछन् । यस्ता व्यक्तिलाई देश निकाला गर्न अध्यागमन विभागमा लेखी पठाइनेछ र भिसा जारी गर्ने अधिकृतमाथि कारबाही अघि बढाइनेछ ।
भिसा नवीकरणस्
भिसा नवीकरण नगरी लामो समय बस्ने विदेशी नागरिकलाई कानुनबमोजिम शुल्क, विलम्ब शुल्क र जरिवाना तिराएर नवीकरण गरिनेछ वा मन्त्रालयको स्वीकृतिमा देश निकाला गरिनेछ ।
३- प्रक्रियागत त्रुटिमा कारबाही
साना प्रक्रियागत त्रुटिका लागि पहिलो पटक सचेत गराइनेछ । त्रुटि दोहोरिएमा विभागीय कारबाही हुनेछ ।
यो फ्रेमवर्कले अध्यागमन सेवालाई पारदर्शी, व्यवस्थित र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । अध्यागमन कार्यालयका प्रमुख विष्णु प्रसाद कोइरालाले यो फ्रेमवर्कले काममा सहजता ल्याउने र सेवा प्रवाहलाई तीव्र बनाउने बताए।
