जंगली च्याउ खाँदा एकै परिवारका आठजना बिरामी

काठमाडौं। उदयपुरमा विषालु जंगली च्याउ खाँदा एकै परिवारका आठजना बिरामी परेका छन्। चौदण्डीगढी नगरपालिका-९ अजगराका ८५ वर्षीया गवनी सदा, ६० वर्षीया गीता सदा, ३१ वर्षीया सञ्जु सदा, २९ वर्षीया मञ्जु, २९ वर्षीया सरिता, १० वर्षीया सन्ध्या, ११ वर्षीया सन्जा र ५५ वर्षीय लल्कु सदा बिरामी परेका हुन्।

सदा परिवारले हिजो घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाएका थिए। त्यसपछि उनीहरूलाई बान्ता हुने र टाउको दुख्ने जस्ता समस्या देखिएको थियो।

तीन जनालाई गम्भीर अवस्थामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। अहिले भने सामान्य अवस्थामा आठै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदरपुरले जनाएको छ।