छात्रवृत्तिको विवरण नबुझाउने विद्यालयको अनुमति रद्द गर्ने बालेनको चेतावनी

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले विद्यार्थीलाई छात्रवृत्ति प्रदान नगर्ने विद्यालयको सञ्चालन अनुमति रद्द गर्ने चेतावनी दिएका छन्। फेसबुकमार्फत उनले शैक्षिक सत्र २०८२ मा हालसम्म ४४० विद्यालयले छात्रवृत्ति विवरण बुझाएको र केहीले अझै नबुझाएको बताए।

विवरण नबुझाउने विद्यालयलाई यथाशीघ्र विवरण पेस गर्न आग्रह गर्दै उनले काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम कारबाही गर्ने चेतावनी दिएका छन्। शाहका अनुसार, विवरण नबुझाउने विद्यालयको सञ्चालन अनुमति रद्द गरिनेछ।

उनले भने, ‘हालसम्म ४४० विद्यालयले विवरण बुझाएका छन्, जसअनुसार १६,९८० विद्यार्थीले छात्रवृत्ति पाएका छन्। केही विद्यालयले अझै विवरण बुझाएका छैनन्। उनीहरूलाई तत्काल विवरण बुझाउन अनुरोध छ। अन्यथा, शिक्षा ऐनअनुसार अनुमति रद्द गरिनेछ।