वेस्ट इन्डिजमाथि नेपालको शानदार जित, एक खेल अगावै जित्यो ऐतिहासिक उपाधि

काठमाडौं। नेपालले युनिटी कपको दोस्रो खेलमा वेष्टइण्डिजलाई ९० रनले हराउँदै एक खेल अगावै ऐतिहासिक सिरिज जितेको छ । तीन खेलको टी२० आई सिरिज नेपालले लगातार दोस्रो जितका साथ एक खेल अगावै जितेको हो । यो नेपालको टेस्ट टोलीविरुद्ध यो पहिलो टी२० आई सिरिज उपाधि समेत हो ।

जित्नलाई १ सय ७४ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिज १७.१ ओभरमा ८३ रनमा अल आउट भयो । वेष्टइण्डिजका जेसन होल्डरले १५ बलमा २ छक्कासहित सर्वाधिक २१ रन बनाए ।

नेपालले पावरप्ल (सुरुवाती ६ ओभरमा) मात्रै १६ रन खर्चेर २ विकेट लिएपछि वेष्टइण्डिजलाई नेपालले निरन्तर दबाबमा राख्न सफल भयो। नेपाली बलरसामु वेष्टइण्डिजका कुनैपनि ब्याटरले क्रिजमा टिकेर रन बनाउन सकेनन् । ओपनर जेवल एन्ड्रयु २, कायल मेयर्स ६, केसी कार्टी १, एकिम अगष्ट १७, अमिर जांगो १६ रनमा आउट भए ।

नेपालको जितमा आदिल आलमले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । नियमित बलर नन्दन यादव घाइतेभएपछि नेपालले आदिललाई दोस्रो खेलमा मौका दिएको थियो।

प्रतिबन्धपछि पूनरागमन पहिलो खेलमै आदिलले उत्कृष्ट बलिंग गरेका हुन् । कुशल भुर्तेलले २।१ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशी, करण केसी र दीपेन्द्रसिंह ऐरीले १९१ विकेट लिए ।

त्यसअघि शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो ।

नेपालको जितमा ओपनर आसिफ शेख ४७ बलमा ८ चौका र २ छक्कासहित ६८ रनमा नट आउट रहे । सन्दीप जोराले ३९ बलमा ३ चौका र ५ छक्कासहित ६३ रनको योगदान दिए ।

चौथो विकेटलाई सन्दीप र आसिफले एक सय रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । नेपालको टी २० आईमा यो चौथो विकेटलाई भएको उच्च साझेदारीमा पनि पर्दछ।

यसअघि नेपालबाट २०२३ मा आसिफ र रोहितले युएईविरुद्ध टि ट्वान्टी आईमा चौथो विकेटलाई ९९ रनको साझेदारी गरेका थिए । त्यस्तै टेस्ट टोलीविरुद्ध टि२० आईमा पहिलो पटक नेपाली ब्याटरको अर्धशतक र शतकीय साझेदारी पनि हो ।

स्पिनर अकिल हुसेनले कुशल भुर्तेललाई २ रनमा एलबिडब्लू आउट र कप्तान रोहितलाई ३ रनमा बोल्ड आउट गर्दै ३.३ ओभरमा १४९२ को अवस्थामा पुर्याएका थिए ।

त्यसपछि कुशल मल्ल ७ रनमा रन आउट भए । ननस्ट्राइकबाट रन लिन कुशल दौडिएपनि आसिफले पिचको केही भागमा आएर फर्किएपछि कुशल पुनः ननस्ट्राइकमा फर्किने क्रममा रन आउट भएका थिए ।

आदिल अन्सारी ५ बलमा १ चौका र १ छक्कासहित ११ तथा गुल्शन झाले ६ रन बनाए । वेष्टइण्डिजका अकिल हुसेन र कायल मेयर्सले समान २ विकेट लिए।

युनिटी कपको पहिलो खेलमा नेपालले वेष्ट इण्डिजलाई १९ रनले हराएको थियो । नेपालले टेस्ट टोलीलाई आफ्नो इतिहासमा पहिलो पटक हराएको हो । अन्तिम खेल मंगलवार हुनेछ ।