लक्ष्मीपूजाको दिन १ हजार १५ मेगावाट बिजुली निर्यात
काठमाडौं । तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ । घरघरमा दिपावली गर्ने र बत्ती जलाउने, घर उज्यालो बनाउने, फूलहरूले सजाउने यो पर्वको विशेषता र मौलिकता हो । दिपावली र बत्ती एक अर्काका परिपूरक हुन्।
नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजा (सोमबार) साँझ देशभर विद्युत्को कूल माग एक हजार ६५० मेगावाट बराबर थियो । लक्ष्मीपूजाकै दिन नेपालले एक हजार १५ मेगावाट बिजुली निर्यात गरेको छ ।
प्राधिकरणका अनुसार गत वर्ष लक्ष्मीपूजाको दिन देशभरको कूल विद्युत् माग एक हजार ६०२ मेगावाट रहेको थियो ।
गत वर्षभन्दा यस वर्ष लक्ष्मीपूजा साँझ कूल बिजुली माग ४८ मेगावाट बढी भएको हो । प्राधिकरणले भारत र बङ्गलादेशमा बिजुली निर्यात गर्दै आएको छ ।
यसैबीच ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङसहितको टोलीले लक्ष्मीपूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएको छ ।
सोमबार राति नेपाल विद्युत प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको नियन्त्रण कक्षको भ्रमण गरी घिसिङले समग्र देशभरको विद्युत् आपूर्तिका बारेमा जानकारी लिई आवश्यक निर्देशन दिएका उनको सचिवालयले जनाएको छ।
