८६७ उम्मेदवारले मात्रै खोले बैंक खाता, २५३९ अझै बाँकी

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ ३ हजार ४०६ उम्मेदवार रहे पनि निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नेको संख्या ८६७ मात्रै पुगेको छ । २ हजार ५३९ उम्मेदवारले अझै खाता खोल्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुन का अनुसार शुक्रबारसम्म सात राजनीतिक दल र ८६७ उम्मेदवारले बैंक खाता खोलेर आयोगलाई जानकारी गराएका छन् ।

निर्वाचन खर्चको पारदर्शिता, खर्च सीमाको पालना र प्रभावकारी निगरानीका लागि छुट्टै बैंक खाता अनिवार्य गरिएको हो। निर्वाचन आयोग ऐन २०७३ अन्तर्गत जारी आचारसंहिताको दफा १६ मा उम्मेदवारले निर्वाचनसम्बन्धी सबै आर्थिक कारोबार सोही खातामार्फत गर्नुपर्ने व्यवस्था छ। सोही आधारमा निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८२ कार्यान्वयनमा आएको हो।

आयोगले निर्वाचन क्षेत्रअनुसार खर्च सीमा तोकेको छ । काठमाडौंका पाँच निर्वाचन क्षेत्रमा अधिकतम २५ लाख खर्च गर्न पाइनेछ । देशभर १७ क्षेत्रमा २७ लाख, ६५ क्षेत्रमा २९ लाख, ५२ क्षेत्रमा ३१ लाख र २६ क्षेत्रमा ३३ लाखसम्म खर्च गर्न पाइने व्यवस्था छ।

उम्मेदवारले निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र खर्च विवरण सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने प्रावधान छ । खर्च सीमाको निर्धारण मतदाता संख्या, मतदान केन्द्र र क्षेत्रफलका आधारमा गरिएको आयोगले जनाएको छ ।

समानुपातिकतर्फ भने दलको बन्दसूचीमा रहेका प्रत्येक उम्मेदवारले अधिकतम २ लाख खर्च गर्न पाउने व्यवस्था छ।