गृहमन्त्रीकाे ८९ तोला सुन, ६ किलो चाँदी, ३ जिल्लामा जग्गा, करोडौंको सेयर

काठमाडौं। गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन रहेको पाइएको छ । आइतबार सार्वजनिक सम्पत्ति विवरण अनुसार गुरुङसँग ८९ तोला सुन रहेको उल्लेख छ। उनीसँग ६ किलो चाँदी पनि रहेको उल्लेख छ ।

त्यस्तै गृहमन्त्री गुरुङको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको पाइएको छ । उक्त जग्गा लगानीबाट जोडेको सम्पत्ति विवरणमा उल्लेख छ ।

गृहमन्त्री गुरुङको पिता दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुर–१८ गुञ्जनगरमा ३० कठ्ठा र बाजे रामसल गुरुङको (बाँडफाँट नभएको) नाममा गोरखाको चुननुब्रीमा २ सय २१ रोपनी जग्गा रहेको उल्लेख छ।

त्यस्तै गृहमन्त्री गुरुङले सेयर बजारमा ४ करोड ३१ लाख रुपैयाँभन्दा बढी लगानी गरेको देखिएको छ। विवरणअनुसार, गुरुङको कुल ४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको लगानी सेयर बजारमा रहेको उल्लेख छ।

विवरणमा होप होल्डिङ्स प्रालिमा उनको ३० हजार कित्ता साधारण सेयर रहेको जनाइएको छ, जसको मूल्य ३० लाख रुपैयाँ छ। त्यस्तै, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५ हजार ७ सय कित्ता साधारण सेयर रहेको र यसको मूल्य ५७ लाख रुपैयाँ उल्लेख गरिएको छ।

गुरुङले सबैभन्दा ठूलो लगानी ‘धितोपत्र बजारमा कारोबार हुने सेयर’ शीर्षकअन्तर्गत देखाएका छन्। व्यवसायिक तथा पैत्रिक स्रोतबाट आएको उल्लेख गर्दै उनले यस शीर्षकमा २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ लगानी रहेको जनाएका छन्।

यसैगरी, एड्भेन्चर भिल्ला प्रालिमा पनि उनको ७० हजार कित्ता सेयर रहेको उल्लेख छ, जसको मूल्य ७० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख गरिएको छ।