मन्त्री सीता बादीसँग १८ तोला सुन,काठमाडौंसहित तीन स्थानमा घरघडेरी
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले आफ्नो सम्पत्ति विवरणमा १८ तोला सुन र १५ तोला चाँदी रहेको उल्लेख गरेकी छन्। उनले यी गरगहना विवाहका बेला प्राप्त गरेको जनाएकी छन्।
आइतबार सार्वजनिक गरिएको विवरणअनुसार उनका ससुराको नाममा काठमाडौंको बूढानीलकण्ठमा घरघडेरी रहेको छ। मन्त्री बादीको आफ्नै नाममा सुर्खेतमा घरघडेरी छ भने उनका पतिको नाममा नुवाकोटमा घरघडेरी रहेको उल्लेख छ।
उनले आफूसँग ५० हजार रुपैयाँ नगद मौज्दात रहेको जानकारी दिएकी छन्। साथै, आफू र ससुराको नाममा एनआईसी एसिया बैंक, प्रभु बैंक लगायतका वित्तीय संस्थामा गरी १५ लाख रुपैयाँ नगद रहेको उल्लेख गरिएको छ।
त्यस्तै, पति र आफ्नो नाममा ५६०० कित्ता सेयर रहेको विवरणमा जनाइएको छ। सवारी साधनतर्फ आफूले स्कुटर र पतिको नाममा मोटरसाइकल रहेको उल्लेख छ। स्कुटर ३ लाख ३० हजार रुपैयाँमा र मोटरसाइकल २ लाख ७० हजार रुपैयाँमा खरिद गरिएको जनाइएको छ। यसैगरी, उनले २० वटा कुखुरा र एउटा कुकुर पनि रहेको विवरणमा उल्लेख गरेकी छन्।
