कांग्रेसले दलको नेता छानेसँगै संवैधानिक परिषद्ले पायो पूर्णता

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेतामा भीष्मराज आङदेम्बेलाई चयन गरेसँगै संवैधानिक परिषद्ले पूर्णता पाएको छ । प्रतिनिधिसभा निर्वाचन भएको डेढ महिनापछि कांग्रेसले आज आङ्देम्बेलाई दलको नेता छानेसँगै संवैधानिक परिषद्ले पूर्णता पाएको हो ।

योसँगै प्रधानन्यायाधीशसहित संवैधानिक नियुक्तिको बाटो पनि खुलेको छ । कांग्रेसले दलको नेता छान्न ढिलाइ गर्दा संवैधानिक परिषद् बैठक नै बस्न सकेको थिएन । जसका कारण प्रधानन्यायाधीश नियुक्त हुन समेत सकेको थिएन । हाल सपना प्रधान कामु प्रधानन्यायाधीशको भूमिकामा छन् ।

संविधानको धारा २८४ अनुसार संवैधानिक परिषद्को अध्यक्षमा प्रधानमन्त्री रहन्छन् भने सदस्यहरूमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र उपसभामुख रहने व्यवस्था छ ।

अब बस्ने संवैधानिक परिषद् बैठकमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुने छ । प्रस्तावित नाम संसदीय सुनुवाइ समितिका दुई तिहाइ सदस्यले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संविधानमा व्यवस्था छ ।

परिषद्को बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डीपी अर्याल, प्रधानन्यायाधीश र विपक्षबाट राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपसभामुख रुबी ठाकुर र विपक्षी दलका नेता भीष्मराज आङदेम्बे रहनेछन् । परिषद्को पहिलो बैठकमा भने कानुन मन्त्रीको सहभागिता रहने व्यवस्था छ ।