नेपाली श्रमिकलाई भारतबाट विदेश पठाउने म्यानपावर कम्पनीलाई कारबाही

काठमाडौं । वैदेशिक रोजगार विभागले अनुमति नलिई भारतका विमानस्थल प्रयोग गरेर नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउने १५९ वटा वैदेशिक रोजगार व्यवसायी संस्थालाई कारबाही गरेको छ । विभागले मागेको विवरण नबुझाउने थप ४३४ म्यानपावर कम्पनीलाई पनि सचेत गराएको हो ।

विभागले शुक्रवार सार्वजनिक गरेको सूचनाअनुसार २०८२ चैत १ गतेदेखि ०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका कामदारको उडान विवरण मागिएको थियो। सञ्चालनमा रहेका एक हजार ११७ इजाजतप्राप्त म्यानपावर कम्पनीमध्ये ६७८ वटाले मात्र विवरण उपलब्ध गराएका थिए।

विवरण अध्ययनका क्रममा १५९ वटा कम्पनीले भारतीय विमानस्थलबाट पठाउन विभागको स्वीकृति नलिई विदेशी विमानस्थल प्रयोग गरी कामदार पठाएको भेटिएको विभागले जनाएको छ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ मा वैदेशिक रोजगारीमा जाने कामदारले स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्था उल्लङ्घन गरेको भन्दै विभागले १५९ कम्पनीलाई ऐनको दफा ५४ अनुसार पहिलो पटक सचेत गराएको हो।

विभागले माग गरेको विवरण नबुझाउने ४३४ वटा म्यानपावर कम्पनीलाई पनि ऐनको दफा ३७ उल्लङ्घन गरेको ठहर गर्दै पहिलो पटक सचेत गराइएको छ । ती कम्पनीलाई पुनः विवरण पेस गर्न समेत भनिएको छ ।

यसैबीच, विभागले पटक–पटक ऐन, नियम तथा निर्देशन उल्लङ्घन गर्ने आठवटा म्यानपावर कम्पनीलाई जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरेको छ। विभागले वैदेशिक रोजगार ऐनमा भएको व्यवस्था कार्यान्वयन गराउन अनुगमनलाई थप कडाइ गर्ने जनाएको छ।

अनुमति नलिई भारतका विमानस्थलमार्फत कामदार पठाउने प्रवृत्तिले कामदारको अभिलेख व्यवस्थापन, सुरक्षा तथा निगरानी प्रणालीमा असर पार्ने भएकाले यस्ता गतिविधिमाथि निगरानी बढाइएको विभागले जनाएको छ।