सामाजिक सुरक्षा कोषः समावेश हुन चाहेनन् होटल कर्मचारी

काठमाडौँ, पुस ११ । सरकारले ल्याएको सामाजिक सुरक्षा कोषमा सहभागी हुन ठूला होटलमा काम गर्ने कर्मचारीले मानेका छैनन् । काठमाडौँका अधिकांश तारे होटलमा काम गर्ने श्रमिकले सामाजिक सुरक्षा कोषले अगाडि सारेका योजनाभन्दा हाल खाइपाई आएको सेवासुविधा नै राम्रो रहेको भन्दै कोषमा सहभागी हुन आलटाल गरिरहेका छन् ।

 

होटल कर्मचारीले हाल खाइपाइ आएको सेवासुविधा नघट्ने सर्तमा मात्र कोषमा सहभागी हुन सकिने बताउँदै आएका छन् । कतिपय होटल व्यवस्थापनले सरकारको दबाबबाट पनि कोषमा जान तयारी गरिरहेको भए पनि कर्मचारी आबद्ध ट्रेड युनियनहरूले नमानेका कारण जान नसकेको बताइएको छ ।

 

सोल्टी होटलको नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक सङ्घले सामाजिक सुरक्षा कोषमा नजाने बताएको छ । सङ्घका अध्यक्ष कमल विष्टका अनुसार अहिले नै श्रमिकहरूले पाउँदै आएको सेवा सुविधा कोषले ल्याएकोभन्दा बढी भएकाले त्यसमा आबद्ध भइहाल्न आवश्यक नभएको बताउनुभयो ।

 

यहाँका कर्मचारीलाई औषधोपचारको लागि होटलले सम्पूर्ण खर्च बेहोर्ने सुविधा दिँदै आएको छ तर सामाजिक सुरक्षा कोषले जम्मा एक लाख रुपियाँ मात्र दिने भनेको छ । महिला कर्मचारीका लागि दिइने मातृत्व सुरक्षाअन्तर्गतको सेवासुविधा कोषले दिनेभन्दा कयौँ गुणा बढी होटलले दिने रहेको छ । अध्यक्ष विष्टले भन्नुभयो, यस्ता खाइपाइ आएको सेवासुविधा छोडेर त्योभन्दा कममा आबद्ध हुन कोही कर्मचारी पनि मान्दैनन् ।

 

ललितपुरमा रहेको हिमालय होटलमा कार्यरत कर्मचारीले पनि कोषमा आबद्ध हुन मानेका छैनन् । होटलको आधिकारिक ट्रेड युनियनका सचिव सन्तोष थापाले कोषले अगाडि सारेका योजना होटलमा काम गर्ने कर्मचारीका लागि खासै आकर्षक नभएकाले उनीहरू त्यसमा आबद्ध हुन नचाहेको स्पष्ट पर्नुभयो ।

 

उहाँले भन्नुभयो, कर्मचारीले २०७६ सालसम्मको उपादानको रकम के कसरी जाने भन्ने स्पष्ट नभइसकेकाले पनि कोषमा आबद्ध भइहाल्ने स्थिति नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, हाल पाउँदै आएको सेवासुविधा नघट्ने सर्तमा मात्र कर्मचारी कोषमा जान सक्लान् । त्यसका बारेमा स्पष्ट हुनपर्छ ।

 

चार सयभन्दा बढी कर्मचारी रहेको होटल हायात रिजेन्सी पनि कोषमा गएको छैन । होटलका मानव स्रोत साधान व्यवस्थापक सुरेन्द्र केसीका अनुसार सामाजिक सुरक्षा कोषले अगाडि सारेका योजना स्पष्ट नभएकाले हालसम्म त्यसमा सूचीकृत भइनसकेको स्पष्ट पार्नुभयो ।

 

उहाँले कोषमा आबद्ध हुँदा अहिलेसम्मको सञ्चय कोषको रकम के हुने, औषधोपचार सुविधामा पनि योगदानकर्तालाई मात्र समावेश गरिएको, परिवारका बारेमा कुनै नीति नभएकोजस्ता विविध कारणले कर्मचारीले त्यसलाई स्वीकार्न नसकेको बताउनुभयो । होटल एसोसिएसनले पनि कोषमा आबद्ध हुने विषयलाई केही दिन रोक्न आफ्ना सदस्यलाई पत्राचार गरेको छ ।

 

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीे बैङ्क तथा ठूला होटलका कर्मचारीले हालको सेवासुविधाभन्दा धेरै पाइरहेको भन्दै कोषमा सहभागी हुन आलटाल गरे पनि त्यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो । गोरखापत्र दैनिकमा खबर छ।