टेलिकमको आम्दानी ६७ करोड बढीले बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको चैतसम्मको अवधिमा नेपाल टेलिकमको आम्दानी ६७ करोड २९ लाख रुपैयाँले बढेको छ।

टेलिकमले दिएको जानकारी अनुसार गत वर्षको यही अवधिको तुलनामा चैत मसान्तसम्मको अवधिमा ६७ करोडभन्दा धेरैले आम्दानी बढेको हो।

गत वर्षको यही अवधिमा टेलिकमले ३२ अर्ब ५३ करोड ६७ लाख रुपैयाँ कूल आम्दानी गरेको थियो। ६७ करोड रुपैयाँले बढेसँगै टेलिकमको आम्दानी ३३ अर्ब २० करोड रुपैयाँ पुगेको छ।

यस्तै, गत वर्षको तुलनामा टेलिकमको कूल सञ्चालन आएमा भने ८७ करोड २९ लाख रुपैयाँले कमी आएको छ।

यससँगै, यस अवधिमा टेलिकमको सञ्चालन आय २७ अर्ब ३४ करोड ६६ लाख रुपैयाँमा आइपुगेको छ। जबकी, गत वर्षको यही अवधिमा २८ अर्ब २१ करोड रुपैयाँ कूल सञ्चालन आय थियो।

टेलिकमको आम्दानी बढे पनि नाफामा भने गिरावट आएको छ। ९ महिनाको अवधिमा टेलिकमले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ नाफा गरेको छ।

जबकी, यो गत वर्षको यही अवधिको तुलनामा २ करोड ३३ लाख रुपैयाँले कम हो। गत वर्षको यो अवधिमा ५ अर्ब ४३ करोड ५३ लाख रुपैयाँ नाफा गरेको थियो।

यस्तै, यस अवधिमा टेलिकमले ब्याजदरमा आएको वृद्धिका कारण समेत मनग्य नाफा आर्जन गरेको छ। टेलिकमले यसमार्फत हुने आम्दानी १ अर्ब ७३ करोड ९९ लाख रुपैयाँ बढाएको छ।

यस्तै,विदेशी विनिमयदरमा आएको वृद्धिका कारण समेत टेलिकमले ५ करोड ४६ लाख रुपैयाँ कमाएको छ।