निर्वाचन आयोग र राजनीतिक दल आज बैठक बस्दै

काठमाडौं। निर्वाचन आयोगले जिल्ला निर्वाचन खारेजीलगायत विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बोलाएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज बिहान साढे ११ बजे बैठक बस्ने गरी राजनीतिक दलहरूलाई बोलाइएको छ।

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरे पछिको अवस्थाका बारेमा जानकारी गराउन निर्वाचन आयोगले राजनीतिक दलका नेताहरूलाई छलफलमा बोलाएको हो।

निर्वाचन कानुनको विधेयक, स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली सङ्कलन गर्ने, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन र राजनीतिक दलका लेखा परीक्षणको सम्बन्धलगायतका विषयमा पनि आज छलफल हुने प्रवक्ता पौडेलले जानकारी दिए।