संसदका दुबै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं। संघीय संसद्का दुबै सदनको बैठक आज बस्दै छ। बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नेछ भने राष्ट्रियसभा बैठक बिहान ११ बजेर १५ मिनेटमा बस्ने संसद सचिवालयले जनाएको छ।

प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभाबाट उत्पत्ति भएको सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ।

त्यस्तै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

यता राष्ट्रियसभा बैठकमा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति तथा कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ। त्यसैगरी अर्थमन्त्री वर्षमान पुनले सुरक्षित कारोबार (पहिलो संशोधन)विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

दुवै सदनमा आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ।